पूर्णिया । कोशी प्रदेशको इटहरीमा चैत १४, १५ र १६ गते आयोजना हुने इस्टर्न ट्राभल्स मार्टलाई लक्षित गर्दै प्रचार–प्रसार अभियान तीव्र बनाइएको छ । नेपाल पर्यटन बोर्डको सहयोग तथा कोशी प्रदेश सरकार र इटहरी उपमहानगरपालिकाको समन्वयमा हुन लागेको मार्टको प्रवर्द्धनका लागि भारतका विभिन्न सहरहरूमा अन्तरक्रिया कार्यक्रम सञ्चालन भइरहेको छ ।सोही क्रममा पर्यटनकर्मीहरुको एउटा टोली फारबिसगंज, पूर्णिया र दरभंगा हुँदै पटनासम्म पुगेर त्यहाँका पर्यटन व्यवसायी तथा सञ्चारकर्मीहरूसँग विशेष भेटघाट तथा अन्तरक्रिया गरेको छ । पुर्नियास्थित श्रीनायक होटलमा आयोजित कार्यक्रममा स्थानीय पर्यटन व्यवसायी र पत्रकारहरूले नेपाली प्रतिनिधिमण्डललाई स्वागत गरेका थिए। मार्टका नेपाली प्रतिनिधिहरूले नेपालमै उत्पादन भएको रुद्राक्षको माला र ढाका टोपी प्रदान गर्दै निमन्त्रणा दिएका थिए।
अन्तरक्रियाका क्रममा भारतीय पर्यटन व्यवसायी तथा सञ्चारकर्मीहरूले नेपाल भ्रमणका बेला भन्सार प्रक्रिया, ट्राफिक व्यवस्थापन तथा केही स्थानमा प्रहरीबाट हुने व्यवहारबारे गुनासो राखेका थिए। कार्यक्रममा बोल्दै मार्टका संयोजक पुण्यप्रसाद भट्टराईले नेपाल–भारतबीचको पर्यटन सम्बन्धलाई थप मजबुत बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताए। त्यसैगरी नेपाल पर्यटन बोर्डका मार्केटिङ प्रमुख रोहिणी खनालले नेपाल–भारतबीच पर्यटन प्रवर्द्धनका लागि भारतका विभिन्न स्थानमा अन्तरक्रिया गर्दै मार्टमा सहभागिताका लागि निमन्त्रणा दिइएको बताए । कार्यक्रममा नेशनल जर्नालिस्ट एसोसिएसन महिला बिहारकी अध्यक्ष पूजा मिश्र, होटल एसोसिएसन पट्नाका अध्यक्ष पंकज नायक, मार्टका सचिव उमेश दाहाल, सदस्य दीपक पोखरेल, खिलकुमार सुवेदी लगायत पत्रकार तथा पर्यटन व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो।